RayNewsDaily
शेयर बजारमा सामान्य करेक्सन, १६ अर्बभन्दा बढीको कारोबार

रे समाचार/काठमाडौं । हिजो उच्च अंकले बढेको शेयर बजारमा आज सामान्य करेक्सन आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने ट्रेड टावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेशनल हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ३ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update