RayNewsDaily
शेयर बजारमा उछाल

रे समाचार/कामठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल आएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ५७.५५ अंक बढेर २७७२.१७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । गत बिहीबार ९ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ७८ कराड ५७ लाख २९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ९ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार ऊर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी र त्रिशूली जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । एभरेष्ट बैंक लिमिटेडको डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ५.८० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसैगरी, ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update