रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । हिजो सामान्य करेक्सन भएको शेयर बजार मापक नेप्से परिसूचक आज ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, त्रिशूली जलविद्युत् कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ६.२५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।
