RayNewsDaily
बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा श्रेष्ठ    
हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ । फाइल फोटो

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले नयाँ नेतृत्व पाएको छ । सिबिफिनको अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।     
     
परिसङ्घका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षका रूपमा चयन गरेको सिबिफिनका महानिर्देशक महानिर्देशक रोशन कोइरालाले जानकारी दिनुभयो ।     
     
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुसमा सम्पन्न साधारणसभाबाट सञ्चालक समितिका रूपमा नरहेपछि उक्त पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्य निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आउनुभएका श्रेष्ठ यसअघि महासचिव हुनुहुन्थ्यो ।     
     
त्यसैगरी नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनित गरेको छ ।     
     
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनित गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षमध्येबाट मनोनित गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनित गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update