रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढिरहेको शेयर बजार मापक नेप्सेमा आज करेक्सन भएको हो । नेप्से परिसूचक आज ९.४३ अंक घटेर २७०५.३८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ५ प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
