RayNewsDaily
शेयर बजारमा ४२ अंकको उच्च वृद्धि          

रे समाचार/काठमाडौं । मुलुकमा चुनावी माहोल बढेसँगै शेयर बजार पनि तातिन थालेको छ । उम्मेदवारी मनोनयन दर्ताका दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ४२.२६ अंकले वृद्धि भई २७१४.८१ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । हिजो ८ अर्ब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ । एसबिएल डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ४.२३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update