RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको छ । नेप्सेको वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधबार ६ अर्ब २० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ । थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने श्रीेनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । बढेकामध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update