श्याम राना मगर/काठमाडौं । नेपालको एक विशेष पर्व त्यसभित्रको पनि मगर तथा थारु समुदायको राष्ट्रिय पर्व माघे सकराती पर्व यस बर्ष पनि काठमाडौको टुडिखेलमा मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।
नेपाल मगर संघ केन्द्रीय समिति तथा विभिन्न भ्रातृ संघसंस्थाहरुले काठमाडौंको टुँडिखेलमा दुई दिने विशेष माघे सकराती मेलाको आयोजना गरेर मनाउन लागेका हुन् । टुँडिखेलमा पुस ३० र माघ १ गते भव्य कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको नेपाल मगर संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मगर माघे सकराती शुभकामना आदानप्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले समुद्घाटन गर्नुहुने पत्रकार सम्मेलन मार्फत नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ ।
टेक नाम्जाली मगर, महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति
मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराती-२०८२ लाई मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराती-२०८२ को अवसरमा “मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔैं, गरौं मगर हुनुमा गर्व । प्रकृति-कुलपित्र-चेली पूजाको मूल साँस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती पर्व” भन्ने मूलनाराका साथ मगर जातिका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचिमा सुचिकृत गराउँदै विश्वव्यापी गराउने उद्देश्यले २ दिने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको आयोजना गर्न लागिएको महासचिव नाम्जालीले बताउनुभयो ।
नेपाल तथा विश्वभरि छरिएर रहेका मगर समुदायले चेली, पितृ तथा प्रकृति पुजेर साथै पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यस पर्वलाई भव्य रुपमा मनाउने गर्दछन् । माघे सकरातीलाई मगर समुदायले विशेष गरेर चेली पुज्ने पर्वको रुपमा मनाउने नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगा खासु मगरले बताउनुभयो । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनीका साथै तारो हान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।
गंगा खासु मगर, सहअध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति
यस्ता संस्कार संस्कृतिको संरक्षण यस्तै चाडपर्वहरुले नै गर्ने हुँदा यसको संरक्षण र विकासका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै उल्लेख गरेर लागेको भन्दै सांस्कृतिक संस्थानका महाप्रवन्धक किरणबाबु पुन मगरले यस बर्षको माघे सकरातीमा पनि सांस्कृतिक संस्थानका विशेष प्रस्तुतिहरु समेत रहने बताउनुभयो ।
किरणबाबु पुन मगर, महाप्रवन्धक, सांस्कृतिक संस्थान
२०८२ पुस ३० गते टुँडिखेल काठमाडौंमा बिहान १० बजे देखि मौलिक मगर साँस्कृतिक प्रस्तुतिहरु राख्ने कार्यक्रम रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । कार्यक्रममा मगर मौलिक सांस्कृतिक प्रस्तुतिहरु मगर कौराहा, मगर फाङ्क नाँच, मगर भुमे, मगर धाँसी संस्कृति, मगर स्याम्बो, मगर डिग्रे, मगर हुर्रा, मगर थाली नाँच, मगर सिमला बारुला, मगर यानीमाया, मगर सालैज्यो जस्ता प्रस्तुतिहरु साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको आकर्षक सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिने भएको छ । त्यस्तै माघ १ गते, मुख्य समारोह हुनुभन्दा अगाडि विहान १० बजे भृकुटी मण्डपबाट मौलिक झाँकी सहितको र्याली निकालिने जनाइएको छ ।


माघे सकराती पर्व मगर जातिको प्रमुख साँस्कृतिक चाड भएको र जसलाई नेपाल सरकारबाट समेत २०६५ सालमा मगर समुदाय साथै थारुहरुको समेत प्रमुख राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मगर समुदायको प्रमुख साँस्कृतिक पर्व मगर माघेसकराती २०८२ लाई हरेक घर आगन, टोल, गाउँबस्ती, जिल्ला, प्रदेश, प्रवास सबै तह र तप्कामा प्रमुख पर्वको रुपमा भव्य रुपमा मनाउन अपिल गर्नुभएको छ ।
