रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.५४ अंक घटेर २६३५ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । पछिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड ३ को इकाईमूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ४.२५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ ।
