रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २८.७३ अंक बढेर २६३९.३७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब १ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम, रु रु जलविद्युत् परियोजना र बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने हिम स्टार ऊर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिभेन्चर र सप्तकोशी विकास बैंकको शेयर भने आज २ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले बढेको छ ।
