रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने हिम स्टार ऊर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज अन्य उपसमूहको परिसूचक मात्र बढेको छ ।
