RayNewsDaily
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड २ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update