RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाडौं । तीन दिनको लगातार बिदापछि खुलेको आजको शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ । यसैगरी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ । आज नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक वृद्धि भएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update