रे समाचार/काठमाण्डू । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ ।
घर निर्माण फाउन्डेशनको आयोजनामा हुन लागेको यस फेस्टको फेस्टको औपचारिक उद्घाटन भोलि पुष १२ गते दिउँसो १२ बजे हुनेछ । पुष १२ गतेदेखि पुष १५ गतेसम्म ४ दिन सम्म चल्ने फेस्टमा विभिन्न विषयमा आधारित अन्तरक्रिया समेत हुनेछ । पहिलो र दोस्रो दिन ‘घर नक्सा, राम्रो र बलियो घर’ विषयक प्यानल डिस्कसन हुनेछ भने तेस्रो दिन ‘जे गर्छु नेपालमै गर्छु’ विषयक अन्तरक्रिया हुनेछ आयोजन घर निर्माण फाउन्डेशनले जनाएको छ ।
घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि लिएर निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य सहित फाउन्डेशनले फेस्ट गर्न लागेको हो ।
घर निर्माण फेस्ट २०८२ मा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू फेस्टमा प्रस्तुत गरिनेछ । यससँगै फेस्टमा घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने १ सय ५० बढी स्टलहरू रहनेछन् ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गएपनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले यी समस्याहरुको सम्वोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको आयोजक जनाएको छ ।
प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पु¥याउन सक्ने आशा व्यक्त गरिएको छ । २ सय करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको प्रदर्शनी विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शन गरिनेछ भने जास्मिन पेन्ट्सको सहकार्यमा नेपाली कला, संस्कृति र निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षासहित विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शन आयोजना गरिनेछ । यस फेस्टमा युवा पुस्ताको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिँदै फेस्टमा ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूको सहभागितामा मोडल प्रतियोगिता आयोजना गरिनेछ । फेस्टको ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
