रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक आज १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
एसवाई प्यानल नेपालको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ६२ रुपैयाँ २० पैसा बढेर ६८४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सिटिजन्स बैंक डिबेञ्चरको मूल्य ९.८३ प्रतिशतले वृद्धि भएको छ भने नेपाल एसबिआई बैंक ऋणपत्रको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको १३ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, बलेफी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
