रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । हिजो सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य भने आज सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ ।
