रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमस्टार ऊर्जा कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ६.९५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।
