RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, एसबिएल डिबेञ्चरको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने श्रीनगर एग्रीटेकको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ८.४२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update