RayNewsDaily
भन्सार विभागले एजेन्टहरुलाई वार्तामा बोलायो   

रे समाचार/काठमाडाै‌ । देशभरका भन्सार कार्यालयमा जाँचपास रोकिएपछि भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएको छ । भन्सार एजेन्टहरूले नयाँ भन्सार ऐनका कतिपय व्यवस्थामाथि असहमति जनाउँदै आन्दोलन गरेपछि आयात-निर्यात प्रभावित भएको छ ।

यही समस्या समाधान गर्न भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समस्या लामो समय नतन्कियोस् भनेर तत्काल वार्तामा बोलाइएको बताउनु भयो । असन्तृष्ट पक्षको कुरा सुनेर आजै समाधान गर्ने प्रयास गरिने भण्डारीले बताउनु भयो ।

एजेन्टहरूले नयाँ ऐनमा राखिएका दण्ड–जरिवाना, मूल्यांकन, सर्भर समस्यादेखि लिएर पेशागत हकहितसम्मका विषयमा असहमति जनाउँदै देशभर काम बन्द गरेका थिए । जसका कारण मुख्य भन्सार कार्यालयमा औद्योगिक कच्चा पदार्थ, खाद्य सामग्री, मेसिनरी, विद्युत उपकरण लगायत एजेन्टको भूमिकामा निर्भर सबै सामग्री रोकिएका छन् । यसले राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ ।

वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार दैनिक ७३ करोड राजस्व उठ्ने लक्ष्य रहेकोमा यो आन्दोलनले प्रभावित भएको छ । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरुले देशभरका कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासको काम ठप्प भएका हुन् । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोध स्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update