RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट   

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, इंगवा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ५.१६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने पियोर इनर्जीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update