रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साताको पहिलो कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २१.४८ अंक घटेर २६०९.६९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधबार ५ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढेको छ । बुङ्गल हाइड्रोको शेयरमूल्य भने आज सर्वाधिक ८.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सागर डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावरको कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जलविद्युत् उपसमूहको परिसूचकमा सर्वाधिक १.२२ प्रतिशतको गिरावट आएको छ ।
