RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज पाँचवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ । सामलिङ पावर लिमिटेडको शेयरमूल्य भने आज सर्वाधिक करिब तीन प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ४९ लाख ७६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update