रे समाचार/काठमाडौं । शेयर बजार आज करिब स्थिर रहेको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने करिब स्थिर रहेको हो । नेप्से परिसूचक आज ०.५३ अंक घटेर २६४४.७० विन्दुमा झरेको छ । आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । हिजो ४ अर्ब ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ । ग्रीन भेन्चर्सको शेयरमूल्य भने आज सर्वाधिक ९.८५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, माउन्टेन इनर्जीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।
