RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज चारवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सागर डिष्टिलरीको शेयर निरन्तर १७ औँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले वृद्धि भएको छ । निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८–८९ को मूल्य भने आज सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे १५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको भए पनि बजारमा त्यसले कुनै प्रभाव पार्न सकेन । केन्द्रीय बैंकले शेयरबजार सम्बन्धी कुनै हेरफेर नगरेपछि समीक्षाको प्रभाव बजारमा नपरेको विज्ञहरूले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update