RayNewsDaily
सहुलियतको चामल बिक्री घट्यो        

गोरखा । एक वर्षअघिसम्म सरकारी गोदामको चामल हारालुछ हुने उत्तरी गोरखाको सिर्दिबासमा यसवर्ष गोदाममै थुप्रिएको छ ।     
     
सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयले सरकारी गोदामको भन्दा पसलको चामल उपभोग गर्न थालेकाले कम्पनीको चामल गोदाममै थुप्रिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाकी प्रमुख रञ्जना केसीले बताउनुभयो ।     
     
गतवर्ष यहाँ दुई हजार क्वीन्टल चामल बिक्री भएको थियो । यस वर्ष हालसम्म जम्मा ६०० क्वीन्टल चामल बिक्री भएको केसीले जानकारी दिनुभयो । “विगतमा माग धान्न गाह्रो थियो”, उहाँले भन्नुभयो, “तर यसवर्ष पहिलो पटक सिर्दिबास डिपोको चामल कम बिक्री भएको छ ।”     
     
कम्पनीको सिर्दिबास डिपोमा झन्डै ५० प्रतिशत बिक्री दर घटेको कम्पनीले जनाएको छ । उपभोक्ताले खाद्यको गुणस्तरीय चामलभन्दा बजारमा पाइने सर्वसुलभ सस्ता चामल रोजेकाले बिक्रीदर घटेको प्रमुख केसीको भनाइ छ ।     
     
खाद्य कम्पनीले उत्तरी गोरखाको चुम्लिङ्ग र नाम्रुङ्मा पनि बिक्री केन्द्र स्थापना गरेकाले सिर्दिबास डिपोमा बिक्री कम भएको हुनसक्ने प्रमुख केसी बताउनुहुन्छ ।     
     
खाद्यको सदरमुकामस्थित शाखा कार्यालयको चामल बिक्री पनि घटेको छ । सदरमुकामको डिपोबाट जिल्ला कारागार र सर्वसाधारणलाई गरी वार्षिक १६ देखि १८ सय क्वीन्टल चामल बिक्री हुने गरेको थियो । कार्यालयले सोना मन्सुली चामल प्रतिकेजी रु ६५ रुपैँयामा र स्टीम जिरा मसिनो चामल प्रतिकेजी ९० र डिपो सिर्दिबास तथा बिक्री केन्द्र चुम्लिङ र नाम्रुङमा प्रतिकेजी ९२ रुपैँयाका दरले बिक्री गर्दै आएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update