RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ । 

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । जोशी हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ४.९६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update