रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा उच्च वृद्धि भएको छ । शेयर बजार मापक नेप्से हिजो ३९ अंकले वृद्धि भएकोमा आज ५०.४४ अंकले वृद्धि भई २६५०.६६ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ६ अर्ब २८ करोड ६७ लाख बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज पाँचवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्युरेन्स र सूर्र्यज्योति लाइफ इन्स्युरेन्स कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । माबिलुङ इनर्जीको शेयरमूल्य भने आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीको करिब २४ करोड ४३ रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्युरेन्स कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको शेयर आज वृद्धि भएको छ ।
