रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च वृद्धि भएको छ । शेयर बजार मापक नेप्से आज ३९.९२ अंकले वृद्धि भई २६००.२२ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ६८ करोड ८८ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । पिपुल्स हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ७.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ६० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, पिपुल्स हाइड्रोपावरको करिब ३४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज म्युच्युअल फन्ड उपसमूहको परिसूचक मात्र घटेको छ भने अन्य सबै उपसमूहको परिसूचक बढेको छ ।
