रमेश हतुवाली/काठमाण्डू । पत्रकार तथा लेखक चेतनाथ आचार्यको पछिल्लो कृति 'चिनियाँ दृष्टिकोण' लोकापर्ण गरिएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज एक विशेष समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सो कृति लोकापर्ण गर्नु भएको हो ।
लोकापर्ण समारोहमा बोल्नुहुँदै सभामुख घिमिरेले गरिवी निवारणमा चीनले लिएको नीतिबारे वहस चलाउनु आवश्यक रहेको बताउनुभयो । चीनले गरेको विकास र प्राप्त गरेका उपलब्धिहरुले विश्वमा विभिन्न प्रतिक्रिया आईरहने भएको हुनाले पनि चीनलाई चिन्नु विश्लाई चिन्नु सरह भएको घिमिरेको भनाइ छ । चीनले विभिन्न क्षेत्रमा प्राप्त गरेका उपलब्धि र चिनियाँ दृष्टिकोणबारे बुझ्न पनि चेतनाथ आचार्यको पुस्तक चिनियाँ दृष्टिकोण महत्वपूर्ण हुने घिमिरेको धारणा रहेको छ ।
समारोहमा वोल्नुहुँदै पूर्व महान्यायाधिवक्ता तथा राजनीतिक विश्लेषक प्रा.डा. युवराज सङ्ग्रौलाले बीआरआई बारे नेपाली नेतृत्व तहको बुझाई प्रस्ट नभएको टिप्पणी गर्नु भयो । बीआरआई साझेदार परियोजना भएको जानकारी दिनुहुँदै सङ्ग्रौलाले बीआरआई बारे पश्चिमाले गरेको सुरक्षा रणनीति सम्वन्धि बुझाईले नेपाललाई पनि छोपेको बताउनु भयो ।
पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणी पौड्यालले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन पत्रकार तथा लेखक चेतनाथ आचार्यले पुस्तकमार्फत सद्भावना दूतको काम गर्नुभएको बताउनु भयो ।
समारोहमा चाइना मिडिया ग्रुपका दक्षिण एशीया विभागका प्रमुख चाङ युए (वर्षा)ले चीनमा भख्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा उठेका विभिन्न विषयहरु निर्णयबारे जानकारी दिनुहुँदै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मकालु प्रकाशन गृहका सञ्चालक वासुदेव ढकालको अध्यक्षतामा सम्पन्न सो लोकापर्ण समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दर नाथ भट्टराई लगायतका विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो ।
सो कृतिलाई मकालु प्रकाशन गृहले प्रकाशित गरेको हो ।
