रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार करिब स्थिर रहेको छ । हिजो सामान्य अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज ०.९३ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ । नेप्से करिब स्थिर रहे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज चारवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ । बुङ्गल हाइड्रोको शेयरमूल्य भने आज सर्वाधिक ९.०५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।
