रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक घटेर बन्द भएको हो । नेप्से परिसूचक आज ४.९८ अंक घटेर २५६१.०८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ६.०३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ४० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, साहस ऊर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको करिब १६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।
