RayNewsDaily
अत्यधिक चिसो बढेसंगै कोरलानाका बन्द हुँने अवस्थामा

मुस्ताङ । कार्तिक १० गतेपछिको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ र नेपाल-चीन सिमानामा पर्ने कोरला नाकामा अत्यधिक चिसो बढेको छ । चिसो बढेसंगै कोरला नाका बन्द हुने अन्तिम अवस्थामा पुगेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

मुस्ताङ भन्सार कार्यालयलाई आधिकारिक रुपमा नाका बन्द हुने जानकारी प्राप्त नभए पनि नाकामा सहजीकरण गर्ने केही दोभासेहरुलाई चिनियाँ पक्षले चिसोका कारण चाँडै कोरला नाका बन्द गर्ने जनाउ दिएको सूचना प्राप्त भएको लोमान्थाङ-२ छोसेर न्हे चुङ स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । चिनिया भन्सार कार्यालयका प्रमुखले पनि विदा लिएको दुई हप्ता भई सकेको जानकारी आएको खड्काको भनाइ छ ।

हिउँदयामसंगै कोरलानाकामा माईनस २० डिग्री भन्दा बढी चिसो बढेको छ भने मुस्ताङ भन्सार रहेको न्हे चुङमा बिहान र बेलुकीपख माईनस १० डिग्री भन्दा बढी चिसो बढेको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । अत्यधिक चिसोका कारण चीनले अनौपचारिक रुपमा नाका बन्द गरिसकेको अवस्था छ । चिसोका कारण अब बढीमा ४/५ दिन भन्दा बेसी यहाँको नाका नचल्ने लक्षण देखिएको भन्सार प्रमुख खड्काले सुनाउँनुभयो ।

नेपाल-चीन सिमानामा रहेको कोरलानाका स्थित चिनियाँ भन्सारले नेपाली मालवस्तु ढुवानीका लागि भन्सार गर्ने कार्यमा विलम्व गरिदिने लगायतका कारण कोरलानाका पुगेका मालबाहक कन्टेनर हप्तौं सम्म चिनियाँ भन्सार भएर कोरलाबाट कहिले बाहिरिएला भनेर पर्खाइमा बस्नु पर्ने अवस्था रहेको छ । कोरलानाकाबाट चिनिया भन्सारमा पुगेका मालबाहक गाडीहरु चिसोले स्टार्ड नहुने समस्याका कारण हप्तौंसम्म स्टार्डमा राख्नुपर्ने समस्याका कारण ईन्जिन बिग्रिएर अलपत्र पर्नुपर्ने अवस्था रहेको भन्सार प्रमुख खड्काले बताउँनुभयो ।

 राससका अुनसार कोरलानाकामा चिसोको सास्ती भईसकेकाले ब्यापारीहरुले पनि सामान हाल्ने पक्षमा नरहेको बुझिएको छ । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकामा मालवस्तु ढुवानी गर्न गएका ५०/६० वटा कन्टेर रहेको र भन्सार कार्यालयमा जाँचपासको प्रक्रियामा रहेका ५०/६० कन्टेनर गरी करिव १ सय २० वटा भन्दा बढी कन्टेनर रहेको जनाईएको छ । भन्सार प्रमुख खड्काका अनुसार कोरलानाका चिनियाँ पक्षले बन्द नगरेपनि यहाँ आईपुगेका मालबाहक कन्टेनर र भन्सार एजेन्टहरु आफै यहाँबाट फर्किने हतारमा रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update