रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २०.५६ अंकको गिरावट आई २५४४.५९ विन्दुमा झरेको छ । आज नेप्से सूचकमा गिरावट आए पनि कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ३ अर्ब ५२ करोड ६१ लाख बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज चारवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिस्ट्रिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडको शेयर सर्किट लेभलमा कारोबार भएको हो । आज अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको शेयर भने आज सर्वाधिक ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ । राधी विद्युत् कम्पनीको २२ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी साहस ऊर्जा कम्पनीको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने युनियन हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन उपसमूहको मात्र शेयर वृद्धि भएको छ । बाँकी सबै उपसमूहको शेयरमूल्यमा आज गिरावट आएको छ ।
