RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि   

रे समाचार/कामठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ६२.२९ अंकले वृद्धि भई २५७१.३४ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ६६ करोड १३ लाख बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपियाँको शेयर किनबेच भएको छ ।

आज न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको शेयर करिब १० प्रतिशतले वृद्धि भएको छ । एक्सेल डेभलेपमेन्ट बैंक, राधी विद्युत् कम्पनी र लुम्बिनी विकास बैंकको शेयर पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज हिमालयन पावर पार्टनरको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, युनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज व्यापार उपसमूह बाहेक सबै उपसमूहको शेयर वृद्धि भएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update