RayNewsDaily
वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित        

काठमाडौं । वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित हुनुभएको छ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो ।     
     
वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उहाँलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताउनुभयो ।     
     
माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टङ्कमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ ।     
     
व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टङ्कमणि नेपालको स्मृतिमा टङ्कमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।     
     
पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गर्नुभयो । प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताउनुभयो ।     
     
स्मृतिग्रन्थ समीक्षक प्राध्यापक बद्री विशाल भट्टराईले भोजपुरको टेम्के मैयुङमा जन्मिनुभएका नेपाल (१९९७–२०८०) भाषाप्रेमी प्राज्ञिक व्यक्तित्वका रुपमा रहनुभएकाबारे चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष नेपालले ग्रन्थमा लामो समय प्राध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील स्वर्गीय नेपालको अनवरत क्रियाशीलता, शालीन जीवनशैली र वाङ्मय क्षेत्रमा गरेका कार्यका विविध पाटालाई उजागर गर्ने सामग्री समावेश गरिएको बताउनुभयो ।     
     
कार्यक्रममा विद्यादेवी दाहाल पुरस्कार भोजपुका दुई छात्रा योजना फुयाल र विनिता विष्टलाई अर्पण गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update