RayNewsDaily
‘जेनजी’ शहीद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई        

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।     
     
उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।     
     
प्रथम हुने टोलीले नगद रु ७५ हजार, दोस्रोले रु ५५ हजार, तेस्रोले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।     
     
‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।     
     
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो ।     
     
प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक÷एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई/दुई गरी १० टोलीको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update