रमेश हतुवाली/काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको छ ।
चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको वीदाई कार्यक्रममा आज बोल्नुहुँदै राजदूत छन सोङले सो विचार व्यक्त गर्नुभएको हो । काठमाडौंको होटल रेडिसनमा आयोजित सो विदाइ समारोहमा बोल्नुहुँदै राजदूत छन सोङले नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवधिमा दुईदेशबीचको सम्बन्धमा ठूलो प्रगति भएको बताउनु भयो ।
चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विगतदेखि हालसम्म महत्वपूर्ण परिवर्तनहरु देखेका र अध्ययन पुरागरी नेपाल फर्किएका विद्यार्थीहरु विभिन्न क्षेत्रमा उत्कृष्ठता हासिल गर्दै उच्च तहमा पुगेको राजदूत छन सोङको भनाइ छ । चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरु राष्ट्र निर्माणका स्तम्भ भएको बताउनु हुँदै राजदूत छन सोङले चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिको सदूपयोग गरेर चिनियाँ विकासको रहस्य पत्ता लगाएर फर्कन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले चीनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भविष्यमा रोजगारीका लागि प्रशस्त अवसरहरु सृजना हुने पनि जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरु नेपालका जनदूत हुन भन्दै चीन बसाईका क्रममा नेपाली विद्यार्थीहरुले सिक्ने उच्च ज्ञान र प्रविधिको जानकारी नेपालका लागि महत्वपूर्ण हुने बताउनु भयो । चीनमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्यमात्र उज्यालो नभइ त्यसले नेपालको भविष्य पनि उज्यालो बनाउने भएकोले चीनमा लगनशील भएर उच्च शिक्षा प्राप्त गरी नेपाल फर्कन मन्त्री राईले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । मन्त्री राईले नेपाल र चीनबीचको सम्बन्ध प्राचिनकालदेखि नै प्रगाढ रहेको बताउदै नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले चीन सरकारले सन् १९५७ देखि उपलब्ध गराएको छात्रवृत्तिबाट नेपालका दशौं हजार विद्यार्थीहरु दिक्षित भएको र चीनका विश्व विख्यात विश्व विद्यालयहरुमा अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीहरुका लागि गर्वको विषय भएको बताउनु भयो । चीन सरकारले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि उपलब्ध गराएको सहयोग महत्वपूर्ण रहेको भन्दै डाक्टर शाहले चीनमा उच्च शिक्षा हासिल गरि नेपाल फर्किएर नेपालको विकास निर्माणमा समर्पित हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

चीन सरकारले सन् २०२३/२४ का लागि उपलब्ध गराएको छात्रवृत्तिमा ७१ जना नेपाली विद्यार्थीहरु चीनका विभिन्न विश्व विद्यालयहरुमा अध्ययनका गर्न यसै महिना जाँदैछन् । दशकौंदेखि चीनमा नेपाली विद्यार्थीहरु चिकित्सा शास्त्र, कृषि, इन्जिनियरिङ, निर्माण, एयरोस्पेस, कम्प्युटर एप्लिकेसन लगायतका विषयहरु अध्ययन गरिरहेका छन् ।
