कोलम्बो । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले शुक्रबार बताउनुभएको छ ।
“यस भर्नाले शिक्षा, स्वास्थ्य र कृषिलगायत सार्वजनिक क्षेत्रका विभिन्न क्षेत्रमा रहेका खाली पदहरू पूर्ति गर्नेछ,” अबेयरत्नेले पत्रकारहरूसँग भन्नुभयो ।
कार्यक्रमअन्तर्गत करिब ३० हजार शिक्षक र अन्य एक हजार ५०० भन्दा बढी ग्रामिण स्तरका अधिकारीको भर्ना अन्तिम चरणमा पुगेको छ ।
अबेयरत्नेले स्वास्थ्य र कृषि क्षेत्रका खाली पदहरू पूर्ति गर्न थप भर्ना गरिने बताउनुभएको छ।
सन् २०२५ मा स्नातक र अन्य योग्य युवासहित करिब ३५ हजार व्यक्तिसार्वजनिक सेवामा भर्ना भएपछि यो नवीनतम भर्ना अभियान आएको हो ।
श्रीलङ्काको तत्कालिन गोटवाय राजपाक्ष प्रशासनले चरम आर्थिक सङ्कटका कारण सन् २०२२ मा चरम खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरेको थियो ।
देशले भोगिरहेको यो सङ्कट विगत सात दशक यताकै सबैभन्दा खराब सङ्कट थियो ।
विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको थियो ।
मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका थिए । परिणामस्वरूप तत्कालिन राष्ट्रप्रमुख राजपाक्षको प्रशासनको अन्त्यको माग गर्दै आन्दोलन भएको थियो ।
यसैका कारण राजपाक्षले देश नै छोड्नु परेको थियो भने पछि बनेको अन्तरिम सरकारले देशको सङ्कटलाई सम्हालेको थियो । सोही सरकारले निर्वाचन गरी त्यहाँका समाजवादी नेता अरणा कुमारा दिशानायकेको नेतृत्वमा अहिले निर्वाचित सरकार रहेको छ र यो सरकारले केही महत्वाकाङ्क्षी सुधारका प्रयासह गर्दै आएको छ । सिन्ह्वा
