
रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १८.४० अंकको गिरावट आई २४८७.१७ विन्दुमा झरेको छ । नेप्से गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ३ अर्ब १० करोड १८ लाख बराबरको शेयर किनबेच भएकोमा आज ३ अर्ब २७ करोड ५४ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा बढी करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, कालिका लघुवित्तको शेयर ५ प्रतिशतभन्दा बढीले बढेको छ भने इन्फिनिटी लघुवित्त र सगरमाथा लुम्बिनी इन्स्युरेन्सको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समाज लघुवित्तको शेयरमूल्य आज पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीको १३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज बैंकिङ र म्युच्युअल फन्ड उपसमूहको शेयरमूल्य वृद्धि भएको छ । अन्य सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ ।