RayNewsDaily
फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ    

काठमाडौं । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो ।     
     
पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन् ।     
     
त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरुष र १० जना महिला छन् ।     
     
प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो । उहाँले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गर्नुभयो ।     
     
प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update