
रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १९.४३ अंकको गिरावट आई २५२८.१६ विन्दुमा झरेको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ९७ करोड ५४ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज दुईवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्तक्रो शेयर १० प्रतिशतले वृद्धि भएको हो । यसैगरी, क्रेष्ट माइक्रोफाइनान्स र विन्द्यवासिनी हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समाज लघुवित्तको शेयरमूल्य भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन रिइन्स्युरेन्स कम्पनीको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सिइबिडी होल्डिङ लिमिटेडको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज तीनवटाको शेयरमूल्य वृद्धि भएको छ, भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ ।