RayNewsDaily
शेयर बजार उच्च अंकले वृद्धि  

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । हिजो उच्च अंकले घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ७० करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने केबिएल डिबेञ्चरको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update