चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूलाई आफ्नो सिर्जना र सीप क्षमतालाई स्वदेशमै प्रयोग गर्न अपिल गर्नुभएको छ । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस २०२३ का अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमको आज भरतपुरमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वदेश र विदेशमा रहेका लाखौँ युवाहरूलाई देशभित्र नै विकास नयाँ गति निर्माण गर्नका लागि आग्रह गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टो फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनै पर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनु पर्छ ।” उहाँले भन्नुभयो
नेपाली युवाहरूभित्र अन्तर्निहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र सम्बृद्धिको निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको हैसियतमा केही दिन देखि लगातार नै विदेशमा जाने युवा श्रमिकहरूको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु ।”
आफूले युवाहरूको निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको भन्दै उहाँले त्यसमा आजसम्म आउँदा झण्डै ३ लाख विदेशमा रहेका श्रमिकहरू आबद्ध भई सकेको जानकारी आफूलाई भएको बताउनुभयो । विदेशमा जाने युवाहरूलाई सुरक्षित र सम्मानजनक कामको अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको भन्दै उहाँले देशभित्रै सिर्जनात्मक काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “जबसम्म देश भित्रनै युवाहरूका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन तबसम्म युवा पलायनको स्थिति रोकिँदैन ।” प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजनाहरू कसरी देशभित्र विकास गर्ने भन्ने तर्फ केन्द्रित गरेको बताउनुभयो ।
