RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि  

रे समाचार/काठमाडौं । दुई दिनसम्म उच्च अंकले घटेपछि शेयर बजारमा आज दोहोरो अंकको सुधार भएको छ  ।नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै यस दिन बजार सकारात्मक भएको हो। सीमा हटाएपछि लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएपश्चात खुलेको बजारले भने सोही क्रमलाई निरन्तरता दिन सकेन । फलस्वरुप नेप्से सामान्य अंक बढेर बन्द हुन पुग्यो ।

शेयर बजार मापक नेप्से परिसूचकमा आज २२.५९ अंकले वृद्धि भई २५८२.१८ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकम भने सामान्य गिरावट आएको छ । हिजो ५ अर्ब ७६ करोड २७ लाख बराबरको शेयर कारोबार भएकोमा आज ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज एसियन हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी, एमबिएल इक्वीटी फन्ड, कर्पोरेट डेभलेपमेन्ट बैंक र आरबिबि म्युच्युअल फन्डको शेयर ४ प्रतिशतभन्दा बढीले बढेको छ । आज थ्रीस्टार हाइड्रोपावरको शेयर भने सर्वाधिक ९ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रोपावरकाो २७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रिइन्स्युरेन्स कम्पनीको कारोबार रकम २० करोड ९३ लाख नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मात्र घटेको छ । अन्य १२ वटा उपसमूहको शेयर वृद्धि भएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update