RayNewsDaily
पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट नियुक्त, नवनियुक्त भट्ट अडिगालाई विधिवत् मन्दिर प्रवेश गराइयो      

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गर्नुभएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।    
    
नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गर्नुभएको हो । नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर-ताम्रेश्वर-खञ्जनेश्वर-कृष्णेश्वर-शङ्कराचार्य मठ-झम्केश्वर- पशुपतिस्थित चाँगुनारायण-आगमघर-रुद्रगारेश्वर- वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ-आर्यघाट-भद्रेश्वर-चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास-कुमारीस्थान-कीर्तिमुख भैरव-उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्नुभएको हो । उहाँलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराउनुभएको थियो ।  

Pashupatinath1690177602.jpgनियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बस्नुभएको थियो । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो ।    
    
दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त हुनुभएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको थियो । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी उहाँलाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update