RayNewsDaily
एमसिए-नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न        

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ ।     
     
यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश-बोज्लर संयुक्त उपक्रमले काठमाडौँमा निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशन हुँदै मकवानपुरमा निर्माणाधीन हेटौँडा सवस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।     
     
अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए-नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६ दशमलव ५० लाख अमेरिकी डलर रहेको छ । यस सम्झौताअन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ । एमसिए-नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्ट र आशिश-बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि श्री निर्माण गौलीले आज एक समारोहबीच एमसीसी र एमसिए-नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।     
     
हस्ताक्षर पश्चात एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले भन्नुभयो, “यस सम्झौताले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ । यो उपलब्धि नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए-नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो ।”     
     
एमसिए-नेपालले नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशनदेखि तनहुँमा निर्माणाधीन दमौली सवस्टेशनसम्मको, उक्त सवस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन नयाँ बुटवल सवस्टेशनसम्मको र त्यहाँदेखि नेपाल-भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सवस्टेशन, नयाँ दमौली सवस्टेशन र नयाँ बुटवल सवस्टेशन निर्माणसम्बन्धी सम्झौता भइसकेको छ ।     
     
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु-याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update