RayNewsDaily
शेयर बजार आज पनि उच्च अंकले वृद्धि 

रे समाचार/काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले वृद्धि भएको छ  । शेयर बजार मापक नेप्से परिसूचक आज ५८.६३ अंकले वृद्धि भई २६८२.२५ विन्दुमा पुगेको छ । नेप्सेमा  वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९ अर्ब १७ करोड ९५ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज ८ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक,  सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलेपमेन्ट कम्पनी, एसियन हाइड्रोपावर र हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज प्रभु स्मार्ट फन्डको शेयर भने सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनिभर्सल पावर कम्पनीकोे १८ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिस्ट्रिलरीको कारोबार रकम १८ करोड १६ लाख नाघेको छ । आज नेप्सेमा सूचीकृत सबै १३ वटा उपसमूहको शेयर वृद्धि भएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update