रमेश हतुवाली/विराटनगर ।
मुलुकमा विद्यमान राजनीतिक संकटको चाँडो समाधानका लागि जनताको आवाज उठीरहेता पनि आज पनि अन्तरिम सरकार र भावि योजनाबारे कुनै निष्कर्ष निस्कन सकेन ।
आज दिनभरी विभिन्न चरणमा नेपाली सेनाको मुख्यालयमा मुलुकलाई राजनीतिक निकास दिन भनि छलफल भएका समाचारहरु बाहिरिए पनि परिणाम केही आउन सकेन ।
विशेषगरी आन्दोलनको नेतृत्व गर्ने जेन जी समूहका तर्फबाट को को र कतिजना वार्तामा सहभागी हुने भन्ने विषयमा विवाद हुँदा कुनै निष्कर्ष निस्कन नसकेको हो । जेन जीका विभिन्न समूहहरु रहेको, उनीहरुका विभिन्न एजेन्डाहरु रहेको र भावि योजनाका बारेमा खासै विमती नभए पनि नेतृत्व क कसले गर्ने भन्ने विषयले मुलुकलाई अझ गहिरो संकटमा धकेल्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।
नेपाली सेनाको प्रधान कार्यालय अगाडी जेन जीका विभिन्न समूह र नेताहरुले वार्तामा आफूहरुको पनि सहभागीता हुनुपर्छ भन्ने माग राखेपछि परिस्थीति अझ गम्भिर बनेको हो । नेपाली सेनाले भोलि बिहान जेन जीका तर्फबाट वार्तामा सहभागी हुनेहरुको नाम र मोवाइल नम्वर मागेको छ ।
प्राप्त पछिल्लो समाचार अनुसार जेन जीका केही नेताहरुले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न दिने सहमती भएको खवर वाहिरीए पछि जेन जीका दर्जनौं समर्थकहरुले विरोध जनाउँदै ७५ वर्ष पुग्न लागेकी महिला र नेपाली कांग्रेसको नेतृत्वमा समेत रहेकी भन्दै कार्कीको नाम स्विकार गर्न नसकिने बताएका थिए । जेन जीका केही नेताहरुले भने काठमाण्डू महानगरपालिकाका मेयर वालेन साहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने माग राखेका छन् । तर मेयर साहले मोवायल समेत नउठाएको भन्दै केही युवाहरुले असन्तोष व्यक्त गरेका खवरहरु पनि आज आएका छन् ।
नेपाली सेनाले भोलि सम्ममा कुनै न कुनै राजनीतिक निकास निकाल्ने अपेक्षा आम जनताको रहेको छ । तर अन्तरिम सरकारको नेतृत्वकै विषयमा कुरा मिलेन भने परिस्थितिले नयाँ मोड लिन सक्ने अनुमान पनि गरिएको छ । केही विज्ञहरुले वर्तमान संसदबाटै प्रधानमन्त्री चयन गरेर अन्य विषयमा सहमती जनाउनु उपयुक्त हुने सुझाव दिएका छन् । तर यस विषयमा जेन जीका प्रतिनिधिहरुको सहमती छैन । उनीहरु वर्तमान संसद भंग हुनुपर्ने पक्षमा छन् ।
मुलुकमा वर्षौदेखि कायम रहँदै आएको भ्रष्टाचार र विथितीका विरुद्ध सोमबार र मंगलबार भएका आन्दोलनहरुमा ३० जनाको ज्यान गएको छ भने ५०० जना भन्दा धेरै घाईते भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारलाई आन्दोलनले २ दिनमै ढाले पनि मुलुकको भावि राजनीति भने अब कसरी अघि बढ्ला सबैको चासो यसैमा रहेको छ ।
आशा गरौं भोलि सम्ममा महत्वपूर्ण निकास अवश्य निस्कनेछ ।