
रमेश हतुवाली/विराटनगर । नयाँ पुस्ताका युवा (जेनजी) हरूले विराटनगर, सुनसरी, झापा, सप्तरी, सिराहा, महोत्तरी, कलैया, वीरगञ्ज लगायतका जिल्ला तथा क्षेत्रहरुमा बिहानैदेखि आन्दोलन सुरु गरेका छन् ।
हिजो सोमबार देशभर भएका आन्दो्लनहरुमा सरकारले जथाभावी गोली प्रहार गर्दा शहीद भएकाहरुका सपनाहरु पुरा गर्ने र मुलुकमा भ्रष्टचार, विथिती र महंगीका विरुद्ध अझ सशक्त आन्दोलन गर्ने उद्धघोषका साथ यूववर्ग र तिनका अभिभावक समेत सडकमा निस्केका छन् ।
कोशी प्रदेशको राजधानी विराटगरस्थित देवकोटाचोक, वरगाछी, कंचनवारी लगायतका क्षेत्रमा यूवाहरुले सरकार विरोधी नारावाजी गर्दै ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । देवकोटा चोकमै रहेको कोशी प्रदेश संसद भवनलाई चारैतिरबाट प्रहरीहरुले घेराबन्दी गरेका छन् भने सर्वसाधारणलाई चर्को सोधपुछ गरिरहेका छन् ।
विद्यार्थी, कर्मचारी, कानून व्यववसायी, पत्रकार लगायतलाई पनि कडा सोधपुछ गरेर मात्र तोकिएको स्थानमा जान दिइएको छ । केही स्थानमा सामान्य रुपमा निजी सवारी साधन गुडेपछि सार्वजनिक यातायात भने बन्द गरिएका छन् ।
त्यसैगरी विराटनगर प्रवेश गर्ने मुख्य नाका पुष्पलाल चोकस्थित कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको सालिकमा समेत तोडफोड भएको स्थानीयहरुले बताएका छन् ।
एमाले र कांग्रेस लगायतका दलहरुको वर्तमान सरकारको विघटन पछि सरकारमा जान हतारो गरिरहेका र विशेषगरी हिजोको आन्दोलनलाई सहानूभूति राखेर सत्तामा पुग्ने सपना देख्ने दल र नेताहरुसँग शतर्क रहन समेत यूवाहरुले आग्रह गरेका छन् । मुलुकको भाग्य र भविष्य लेख्ने जिम्मा आफ्नै नेतृत्वमा मात्र सम्वन हुने यूवाहरुको भनाइ छ ।