
काठमाण्डू । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारीको आकस्मिक बैठकले जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठनगरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।
सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौँ फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्ताको मागलाई हामीले सम्मान गर्नुपर्छ । त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न आह्वान गर्दछौँ ।”
केन्द्रले सोमबारको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ । माओवादी केन्द्रले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्न तथा मङ्गलबार साँझ ५ बजे देशभरका सबै स्थानीय तहमा श्रद्धाञ्जलीसभा आयोजना गर्न आग्रह गरेको छ ।
देशभक्त र परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न बैठकले आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो । रासस